विराट कोहलीद्वारा टेस्ट क्रिकेटबाट सेवानिवृत्त, १४ वर्षको यात्रामा पूर्णविराम
काठमाडौँ, बैशाख २९- भारतीय क्रिकेटका दिग्गज ब्याट्सम्यान विराट कोहलीले १४ वर्ष लामो आफ्नो टेस्ट करियरबाट सेवानिवृत्तको घोषणा गरेका छन्। उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत भावनात्मक सन्देश पोस्ट गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्।
कोहलीले सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। उनले कुल १२३ टेस्ट खेलमा ९,२३० रन, ३० शतक, ३१ अर्धशतक बनाएका छन्। उनको ब्याटिङ औसत ४६.८५ रहेको छ भने उच्चतम व्यक्तिगत स्कोर २५४ नटआउट रहेको छ।
पूर्वकप्तान कोहलीले ६८ टेस्टमा भारतको नेतृत्व गर्दै ४० जित दर्ता गरेका थिए, जसले उनलाई भारतको सबैभन्दा सफल टेस्ट कप्तान बनाएको थियो। उनको नेतृत्वमा भारतले दुई पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि स्थान बनाएको थियो।
पछिल्लो समय फर्ममा गिरावट आएको अवस्थामा उनले सोचविचारपछि यो निर्णय लिएको अनुमान गरिएको छ। पछिल्ला दुई वर्षमा उनले औसत ३२.५६ मात्र कायम गरेका थिए। उनले अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्ट शृङ्खलामा उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
कोहलीलाई ‘फ्याब फोर’ का सदस्य मानिन्छ — जसमा स्टिभ स्मिथ, जो रुट, र केन विलियम्सन पनि सामेल छन्। उनीहरू पछिल्लो दशकमा टेस्ट क्रिकेटका सबैभन्दा प्रभावशाली नामहरू हुन्।
