पाकिस्तानलाई IMF बाट दोस्रो किस्ताको १.०२ अर्ब डलर, भारतले उठायो आपत्ति
काठमाडौँ, जेष्ठ १- अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले पाकिस्तानलाई विस्तारित कोष सुविधा (EFF) कार्यक्रमअन्तर्गत १.०२ अर्ब अमेरिकी डलरको दोस्रो किस्ता प्रदान गरेको छ। यसअघि मे ९ मा पाकिस्तानले पहिलो चरणमा १ अर्ब डलर प्राप्त गरिसकेको थियो।
IMF ले पाकिस्तानलाई सेप्टेम्बर २०२४ सम्म ३७ महिनाका लागि कुल ७ अर्ब डलर ऋण सहायता उपलब्ध गराउने योजना ल्याएको हो। यस कार्यक्रमअन्तर्गत पाकिस्तानले अहिलेसम्म कूल ३.१ अर्ब डलर पाइसकेको छ। पाकिस्तानको केन्द्रीय बैंकका अनुसार, नयाँ किस्ताको रकम मे १६ भित्रमा बैंक खातामा जम्मा हुने अपेक्षा गरिएको छ।
यसैबीच, भारतले भने पाकिस्तानलाई जारी गरिएको यो सहायता रकमप्रति आपत्ति जनाएको छ। भारतले IMF तथा अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानलाई रकम रोक्न आग्रह गर्दै लबिङ गरेको थियो। भारतको दाबी अनुसार, सो आर्थिक सहायता सीमापार आतंकवादी गतिविधिमा प्रयोग हुने खतरा रहेको छ। यद्यपि, भारतको विरोधका बाबजुद IMF ले रकम हस्तान्तरण अघि बढाएको हो।
